कबिता- “म सेवाकाई गर्छु”

म सेवाकाई गर्छु,
सेवाकाई होइन क्यार, सेवाखाई गर्छु ।
त्यसैले त म धनी छु ।
आर्थिक रूपमा सम्पन्न छु,
हेर्नमा उच्च घरानाको देखिन्छु ।
बोक्नै नसक्ने गरि इज्जत पाउँछु ।
छोराछोरीलाई सबै सुबिधा दिलाउँछु ।
हो, म सेवाकाई गर्छु ।

म उभिन्छु,
उभिएवापतको पैसा लिन्छु ।
उभिंदा उभिंदै पट्यार लाग्छ, र बस्छु ।
बसेवापतको पैसा लिन्छु ।
म खाएवापतको पैसा लिन्छु,
प्रभुको गुणगान गाएवापतको पैसा लिन्छु ।
अनि,
आफ्नै काममा धाएवापतको पैसा लिन्छु ।

आफ्नो सेवाकाईलाई आफै सोस्छु ।
कमजोरहरूका भाग खोस्छु ।
त्यसैले त म धनी छु,
हो, म सेवाकाई गर्छु ।
सेवाकाई होइन क्यार सेवाखाई गर्छु ।

एकहात लामो बिल तिर्न रेष्टुरेन्टतर्फ लर्कन
सकुन्जेलको भारी बोकि सपिङ मलबाट फर्कन
साँच्चै भनेको, मलाई कुनै समस्या छैन ।
काम बदल्न, नाम बदल्न, दाम खर्चने ठाम बदल्न
घर बदल्न,गाडी बदल्न, उस्तै परे नारी बदल्न
साँच्चै भनेको, मलाई कुनै समस्या छैन ।

घर पँधेरो झैं छ मलाई बिदेश जान आउन,
ठुलो कुरा हुँदै होइन मिडियामा छाउन ।

मेरो सेवाकाईको ब्यापार,
एनटिसी र एनसेलभन्दा बढि नाफाको ब्यापार
दिन दुइगुणा रात चारगुणा बढ्ने तिनका ब्यापार
दिन चारगुणा रात आठगुणा बढ्ने मेरो ब्यापार
त्यसैले त म भन्दैछु- मेरो सेवाकाईको ब्यापार
संसारकै सर्वाधिक नाफामुखी ब्यापार !

यो सब कुरा तपाईंलाई मात्र खुसुक्क भनेको,
कसैलाई नभन्नु ।
कारण,
अरूहरूको नजरमा त म एक इमानदार मान्छे,
आफ्नो भन्दा अरूको ख्याल गर्ने सरिफ मान्छे ।
तर खास कुरो थाहा छ?
सबलाई उल्लु बनाउने म एक अति हरिप मान्छे ।

नोट: यो सेवाकाईको नाममा सेवाखाई गर्नेहरूको सम्बन्धमा लेखिएको हो, यदि यसले सेवाकाईको नाममा सेवकाई नै गरिराख्नुभएका कोहि कसैलाई छुन गएमा अग्रिम क्षमाप्रार्थी छु । – Jagadish Pokharel

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *