Monday , 23 October 2017
Breaking News

“तपाईंको त बिहे नै भएको रहेनछ, त्यसैले मेरा पीडा, वेदना र भोगाईहरू तपाईं बुझ्नुहुन्न सायद…..।”

shashi Ghalan“तपाईंको त बिहे नै भएको रहेनछ, त्यसैले मेरा पीडा, वेदना र भोगाईहरू तपाईं बुझ्नुहुन्न सायद…..।” मतिर एकछिन घोरिएर हेरेपछि बल्ल बल्ल आँट गर्दै एकजना दिदी बोलिन् । महिला हिंसा सम्बन्धी छलफल चलाउँदै गर्दा आफूलाई सम्हाल्न नसकी रोएकी एकजना दिदीले अभिमुखिकरणपछिको छुट्टै कुराकानीका क्रममा ती दिदीले यो कुरा मलाई भनेकी हुन् ।

करिब १२, १३ वर्ष अगाडि म एक गैर सरकारी संस्थामा कार्यरत हुँदा मकवानपूर जिल्लाका धेरैवटा गा.वि.स.का महिलाहरूसँग भलाकुसारी गर्ने अवसर पाएकी थिएँ । महिला शसक्तिकरण परियोजनाअन्तर्गत महिला दिदीबहिनीहरूको आर्थिक र सामाजिक शसक्तिकरणको लागि विभिन्न क्रियाकलापहरूमा प्रत्यक्ष, अप्रत्यक्षरूपमा सहभागी हुनुपर्ने जिम्मेवारी थियो । त्यही शिलशिलामा एकदिन समविकास (न्भलमभच) तालिमको लागि म र एकजना साथी करिब १० घण्टाको पैदल यात्रापछि एउटा गाउँमा पुगेका थियौं । त्यही गाउँमा जाँदा उनै दिदीसँग भेट भएको थियो ।

निकैबेर उनीसँगै बसेर वातावरण बनाएपछि फेरि रूँदै आफ्ना मनका वेदनाहरू पोखिदिईन् उनले । घरेलु हिँसा र श्रीमानको व्यवहारका कारण चरम मानसिक र शारीरिक यातना सहँदै बसेकी ती दिदीको कुरा सुनेर जिउ नै सिरिङ्ग भयो । हिँसाको यस्तो रूप पनि हुँदो रहेछ भन्ने थाहा पाएर म छक्क परें ।

त्यसैगरी एकपटक अर्को गाउँमा महिला स्वास्थ्य सम्बन्धी अभिमुखिकरणको लागि एकजना सहजकर्ता साथी र म गएका थियौं । कार्यक्रममा एकपछि अर्को गर्दै आफू पाठेघर (आङ) खस्ने समस्याबाट ग्रस्त भएको र शारीरिक हिँसा खप्नुपरिराखेको कुराहरू धेरैजना दिदीबहिनीहरूले पहिलोपटक समूहमा उजागर गर्नुभएको थियो । एकअर्कालाई हेर्दै आँखाभरी आँसु राखेर एकअर्कामा पहिलो पटक एकै प्रकारका दुःख साँटिरहेका थिए उनीहरू । म भने जता गए पनि महिला र वालिकाहरू पिडित हुनुपरेको तीतो सत्यका कारणहरू र समाधानका उपायहरू सोच्दै त्यही भीडमा हराईरहेको थिएँ ।

सुत्केरी हुनेवित्तिकै प्रशस्त आराम नगरिकन घाँस, दाउरा, मेलापात आदि काममा लागिसक्नुपर्ने र गह्रुँगो भारीहरू बोकेर उकालो–ओरालो गर्नुपर्ने बाध्यताका कारण त्यस ठाउँका अधिकांश महिलाहरूको पाठेघर खस्ने समस्या रहेछ । पाठेघर खस्ने समस्या त धेरैवटा समस्याहरू मध्येको एउटा पो रहेछ ।

कामको शिलशिलामा धेरैपटक शहरी वातावरणमा हुर्केका र त्यतै बसोवास गर्ने सामान्यदेखि नेतृत्व तहमा पुगेका महिलाहरुसँग पनि प्रत्यक्ष, अप्रत्यक्षरूपमा सहकार्य गर्ने अवसरहरू पाएँ । जतिसुकै ठूलो स्थानमा पुगेर सामाजिक अभियानमा लागे तापनि आफ्नो श्रीमानलगायत् घरका सदस्यहरू, आफन्तहरूबाट मानसिक हिंसा खेप्नुपरिरहेको अनुभवहरू सुन्ने सुनाउनेहरूको भीडमा कहिलेकहीँ त आफू हराएको जस्तो महसूस हुन्थ्यो । वेदनाहरू, यातनाहरू, हिँसाका प्रकारहरू फरक–फरक हुन्थे तर गाउँ, शहर, धनी गरिब अधिकांश महिलाहरूले पीडा भोगरिहेकै पाउँथे मैले त्यतिखेर ।
ओहो ! विवाह गर्नु नहुने रहेछ । विवाह गरेमा हिँसा भोग्नुपर्ने रहेछ भन्ने सोचाई मेरो सोझो मानसपटलमा नआएको पनि होइन । तर फेरि जब म आफ्नने घर फर्कन्थँे मेरी आमालाई हेर्थें र आफैलाई फेरि सान्त्वना दिन्थें ।

छोरीलाई पढाउनु हुँदैन, अर्काको घरमा जाने जातलाई पढाएर काम छैन । बरू घरको काम गर्न सिकाउनुपर्छ भन्दै मेरी हजुरआमाले मेरी आमालाई २ कक्षामा पढ्दा पढ्दै गुन्यू चोली दिएर विद्यालय जान रोकिदिनुभएको रे । आमालाई खुब पढ्न मन लाग्थ्यो रे । लुकीलुकी भाइहरूसँग विद्यालय गएर झ्यालबाट एकैछिन चियाएर हेर्नुहुन्थ्यो रे । अनि एकछिनपछि गोठालो, घाँस, दाउरा, घरको काम गर्नको लागि आउनुहुन्थ्यो रे । उहाँले गोठालो जाँदा कपि, किताब, कलम लगेर आफै पढ्नुहुन्थ्यो रे अनि नजानेको कुराहरू पछि भाइलाई सोध्नुहुन्थ्यो रे ।
अर्काको घरमा जाने जात भनेर छापलागेको मान्छे, नभन्दै १५ वर्षमा नै मेरो बुवासँग विहे गरिदिनुभएछ । “मैले त पढ्न पाईनँ तर म मेरो छोराछोरीहरूलाई धोको पुग्ने गरी पढाउँछु” भन्ने अठोट मनमा लिएर विहे गर्नुभएछ आमाले । फलस्वरूप उहाँको ईच्छा पुरा गर्न होला म (जेठी छोरी) लाई उमेरै नपुगी विद्यालय भर्ना गरिदिनुभो । उहाँको ईच्छा त्यतिमा नै सिमित राख्नुभएन, मलाई हात समातेर लेख्न र पढ्न सिकाउनको लागि समय पनि निकाल्नुभयो । छोरी भएर जन्मेकै कारणले अभिभावकले देखिने गरी गरेको विभेदका कारण उहाँलाई साह्रै पीडा भएको रहेछ त्यसैले म उहाँको पहिलो सन्तानको रुपमा छोरी भएर जन्मे तापनि “अर्काको घरमा जाने जातलाई धेरै पढाउनु हुन्न” भन्ने मान्यताबाट टाढा रहनुभयो । प्रतिफलको रूपमा म १५ वर्षको उमेरमा नै एसएलसी परिक्षा दिन योग्यको हुने वातावरण मिलाईदिनु भयो जसको कारण कागजमा मेरो उमेर १ वर्ष बढाउनुपर्ने भयो । फेरि उहाँको उत्कट ईच्छा त्यतिमा नै सिमित राख्नुभएन । एसएलसी पास भएपछि अब छोरीलाई के र कसरी पढाउनुपर्छ भनेर हाम्रो आफन्तहरु मध्ये अलि पढेलेखेको नजिकको व्यक्तिसँग सल्लाह लिन जानुभएको पनि मलाई थाहा छ । मलाई उमेर नपुग्दै विवाहको लागि कहिल्यै पनि जबरजस्ती गर्नुभएन ।

छोरी÷महिला भएकै कारणले भोग्नुपर्ने पीडाहरू, कठिनाईहरू सुन्ने, बुझ्ने र आफैले भोग्ने मेरो जीन्दगीका यात्राहरू त्यतिमै सिमित भएनन् । फरक समयमा फरक प्रकारका भेदभावको अनुभव गर्ने अवसरहरू परमेश्वरले मलाई जुटाईदिनुभयो ।

सामाजिक क्षेत्रमा ८ वर्षको अनुभवपछि एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा सुदुर पश्चिमको एउटा जिल्लाको प्रमुखको रूपमा मेरो नियुक्ति हुँदा म निकै उत्साहित थिएँ । केही महिनापछि साथीहरूसँग जिल्लामा भेटघाट गर्न जाने क्रममा नै बस्नको लागि डेरा खोज्ने योजना तय भएको थियो । लामो समय डेरा खोजियो तर पाईएन । बेलुकीपख मात्र थाहा पाएँ कि त्यस ठाउँमा महिलाहरूले महिनावारी हुनेबेलामा पानी÷धारा आदि चलाउँछन् भनेर घरधनीहरुले महिलालाई डेरा दिन हत्तपत्त मान्दैनन् भनेर । हिम्मत नहारीकन हामी अर्को दिनपनि डेरा खोज्न हिड्यौं । फलस्वरूप एक घरमा म लयायत अन्य २ जना महिला साथीहरूलाई डेरा दिने पक्का भयो । केही समयपछि हामी हाम्रो डेरामा बस्न सुरू गर्यौं । त्यतिबेला त्यस ठाउँमा डेरीको दुध नपाउने भएकोले गाईभैंसी पालेका धेरै घरहरूमा दुध किन्न भनेर हामी गयौं । फेरि त्यहाँ पनि महिला भएकै कारणले उनीहरूले हामीलाई दुध दिन नसक्ने जानकारी गराए । केही महिनाको अथक प्रयासपछि एक घरबाट हामी ३ जना साथीहरूले नियमितरूपमा दुध पाउन थाल्यौं ।

यी त भए मैले भोगेका र देखेका केही प्रतिनिधि घटना र अनुभवहरू । वर्षको एकपटक अन्तर्राष्ट्रियरूपमा नारी दिवस मनाईरहँदा महिला भएकै कारणले महिलाविरूद्ध हुने सबै प्रकारका हिँसाको अन्त्य गर्न व्यक्तिगत र मण्डलीस्तरमा हाम्रो भुमिका कस्तो रहनुपर्छ भन्ने विषयमा मेरो प्रार्थना र चिन्तन मनन निरन्तर जारी छ ।

महिला विरूद्ध हुने सबै प्रकारका हिँसाको अन्त्य गर्न हामीले अब लिनुपर्ने बाटो

व्यक्तिगत सोचाई र व्यवहारमा सन्तुलन

परमेश्वरको वचन, उहाँको आज्ञा, डर र भयमा जिउनु इसाई जीवनको लागि अपरिहार्य कुरा हो । यसैमा न्यायपूर्ण, भेदभाव र हिँसारहित शिक्षा छ । येशूजस्तै जीवन जिउन चाहनेहरूको लागि सबै प्रकारका भेदभाव र हिंसा विरूद्धको अभियानमा उहाँ एक उदाहरण हुनुहुन्छ ।

महिला हिँसाका जति पनि घटनाहरू छन् ती सबैका प्रमुख कारण भनेको महिलाप्रति हेर्ने दृष्टिकोण र व्यवहारलाई परम्परागत रूपमा सम्वद्र्धन र प्रवद्र्धन गर्नु नै हो । कतिपटक परिवारमा महिला तथा पु्रुष दुवै सदस्यहरूको व्यक्तिगत सोचाई र व्यवहारका कारण सानो कारणले पनि हिँसाको रूप लिन सक्छ ।

धेरैपटक परिवारका सदस्यहरूले दिएको सल्लाह सुझावलाई श्रीमान श्रीमतीहरूले नकारात्मक र आफूप्रति हिँसा भएको ठानी डिभोर्ससम्म पनि भएको घटनाहरू हामी माझमा प्रशस्त छन् । “म साथीहरूसँग हिँड्दा, घुम्न जाँदा मैले केही गल्ती नगरे पनि मेरो श्रीमानले मलाई कस्तो टर्चर दिनुहुन्छ, कुनै काम परेर अरुको मोटरसाईकलमा चढ्यो भने बेस्सरी गाली गर्नुहुन्छ । म त अब सँगै बस्न नसक्ने स्थितिमा पुगिसकें । त्यसैले हाम्रो लागि प्रार्थना गरिदिनु ल” भनेर एकजना दिदीले मसँग भन्दै हुनुहुन्थ्यो । यो घटनामा पनि एकजना श्रीमानले यसो नगर्नु भनी आफ्नो श्रीमतीलाई दिएको सुझावले हिंसाको रुप लिँदैथियो । यसो एकछिन सोचें यदि साथीहरूसँग हिँडेको, घुमेको र अरूको मोटरसाईकल चढेको आफ्नो श्रीमानलाई मन पर्दैन भने त्यस्ता व्यवहार दोहोर्याउनुको साटो वचनअनुसार श्रीमानको आदर गरेर साथीहरुसँग घुम्न जानुको साटो परिवारसँग जाने, साथीहरूसँग जाँदा श्रीमानलाई पनि लैजाने । अरूको मोटरसाईकलको साटो सार्वजानिक सवारी साधनको प्रयोग गर्ने । हुनसक्छ भने श्रीमानले श्रीमतीलाई माया गरेर सके सम्म आफ्नै मोटरसाईकलमा पु¥याउने गरेमा समस्याले ठूलो रूप लिन पाउँदैन ।
यो त एउटा सानो व्यवहारिक पाटोलाई समेटेको प्रतिनिधि घटना मात्र हो । यी र यस्ता हिंसाजस्तो लाग्ने व्यवहारहरू परमेश्वरको वचनअनुसारको जीवनले चाहिँ हाम्रो मन मस्तिष्क र घरमा प्रवेश गर्न दिँदैन । म र मेरो श्रीमान हामी दुवैजना एकले अर्कालाई कुनै अपर्झट योजना बाहेकको समयमा अफिसबाट कतै अलमल गरेर राती राती आउनुभन्दा सकेसम्म समयमा नै घरमा आएर परिवारसँग समय बिताएको चाहन्छौं । यदि यसलाई हामीले एकअर्काप्रति गरिने मानसिक हिँसा र अरूको ईसारामा चल्नुपरेको जस्तो गरी लिन्छौं भने परिणाम पनि नराम्रो आउँछ । यदि यसलाई वचनअनुसार एकले अर्कालाई आदर र वास्ता गरेको हो भनी लिन्छौं भने हाम्रो सम्बन्धबाट परमेश्वरले महिमा लिनुहुन्छ र हाम्रो सोचाई र व्यवहारलाई परमेश्वरको वचनअनुसार सन्तुलन राख्नका लागि अझ बढी अनुग्रह पाउन सक्छौं ।
यी त भए वलिदान गर्न सकिने कुराहरू । कतिपय हिंसाहरूले वास्तविक र चरम रूप लिईराखेका हुन्छन् । यस्ता कुराहरूलाई त्यसरी नै कानुनी वा अन्य माध्यमबाट सल्टाउनुपर्ने हुन्छ । तर सकेसम्म यस्तो परिस्थिति आउन नदिने वातावरण मिलाउनका लागि हरेक व्यक्ति–व्यक्तिको छुट्टा छुट्टै भूमिका हुन्छ ।

त्यसैले मण्डलीमा यस्ता व्यवहारिक शिक्षाहरू, व्यक्तिगत, पारिवारिक र सामूहिकरूपमा अगुवाहरूबाट निरन्तर दिईरहनु जरुरी छ र यो कुरालाई नियमितरूपमा फलोअपहरू गरिनु पनि जरुरी छ जसको कारण हिंसा सम्बन्धी व्यक्तिगत सोचाई र व्यवहारलाई परमेश्वरको वचनअनुसार सन्तुलन र अनुशासनमा राख्न थप टेवा पुग्नेछ ।

मण्डली एक पछ्याउन योग्य नमुना

संसारभर नै महिलालाई पछाडि पारिएको दर्जामा राखिएको छ । त्यसैले यसको प्रभाव हाम्रा मण्डलीहरूका दिदीबहिनीहरूमा पनि पर्नु त स्वभाविक नै हो । परमेश्वरले हाम्रो मण्डलीमा धेरै प्रकारका कला, सिप, ज्ञान, स्रोत, साधन भएका व्यक्ति, परिवार तथा समूहहरू राख्नुभएको छ । दिदीबहिनीहरूमा छुट्टै प्रकारको बोझ, दर्शन अनि सेवाको भावना हुन्छन् । त्यसैले यस्ता आशिष र वरदानहरूको पहिचान गरी ठीक तरिकाले मण्डलीमा प्रयोग गर्नको लागि वातावरण बनाईदिएमा महिलाहरूलाई दिनुपर्ने प्राथमिकतामा मण्डली एक कदम अगाडि हुने थियो कि ?

मण्डलीमा व्यक्तिगत, दाम्पत्य र पारिवारिक जीवनलाई परमेश्वरको वचनअनुसार अनुशासनमा जिउनको लागि निरन्तर व्यवहारिक शिक्षा दिईरहनु जरूरी छ । बढ्दै गरेको मोबाईल, इमेल, ईन्टरनेट माथिको पहुँचसँगै सामाजिक संजालसँगको घुलमिलबाट हाम्रो मण्डली पनि अछुतो छैन । माहिला तथा वालिकाहरू सजिलै तरिकाले हिंसामा पर्न सक्ने यस्ता विकृतीहरूमाथि मण्डलीको कडा निगरानी अपरिहार्य म देख्छु । यसका लागि मण्डलीले सम्पूर्ण संगतिहरूमा भेदभाव र हिँसा विरूद्ध निरन्तर शिक्षा दिने र फलोअप गरेमा हिंसामा पर्न र पार्नसक्ने जोखिमबाट बच्न सकिन्छ ।

येशु ख्राीष्टले यस संसारमा हुँदा हिंसा र भेदभावहरू विरूद्ध सबैको लागि उदाहरणीय नमूना बन्नुभयो । आज हामी उहाँको वंश (छोराछोरी), उहाँको जीवित र महिमित उपस्थितिलाई सधैं बोकी हिंड्ने राजकीय पुजाहारीगिरी हौं भन्छौं भने उहाँको नमूना हामीमा पनि सर्नु जरूरी छ । येशुजस्तै हुन चाहने हाम्रा ईच्छाहरूलाई परमेश्वरको वचनअनुसार निरन्तर अनुशासित राखेमा छोरा–छोरी, महिला–पुरूष, धनी–गरिब आदि भेदभाव र हिंसा हाम्रो मण्डलीबाट एक इतिहास मात्र बन्नेछ । जसको फलस्वरूप हाम्रो समुदायमा महिलामाथि हुने सबै प्रकारका हिंसाविरूद्धको अभियानमा पनि मण्डली एक पछ्याउन योग्य नमूना बन्नेछ ।

शशी घलान मुखिया
हेटौंडा, मकवानपुर

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney