Monday , 21 August 2017
Breaking News

विलिभर्स चर्च समुदायको विशप प्रतिस्थापन कार्यक्रम सम्पन्न

विलिभर्स चर्च समुदायको आयोजनामा आज असार २५ गते तदानुसार ९ जुलाई २०१७ आइतबारका दिन ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कूलको अडिटिरियम हलमा विलिभर्स चर्च समुदायका नेपालभरीका विभिन्न ६ सय चर्चहरूबाट करिब पन्ध्र सयको सहभागितामा विशप प्रतिस्थापन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

विशप गोपाल के.सी क्षेत्रीले शुरुको प्रार्थना गर्नुभएको सो कार्यक्रममा नेपालको राष्ट्रिय गान गाइएको थियो भने भानु सुनारको नेतृत्वमा रहेको क्वायर झुण्डले भजनगीत गाउन अगुवाई गरेको थियो । गत अप्रिल ११, २०१७ का दिन भारतको केरलामा विशप पदमा नियुक्त हुनुभई अभिषेक गरिनुभएका विशप हेमचन्द्र शर्मा र विशप धन बहादुर तामाङलाई आज एक भब्य र विशेष कार्यक्रमको आयोजना गरी उहाँहरूलाई पद प्रतिस्थापन गरिएको हो । उक्त भब्य कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, विदेशबाट आउनुभएका विशेष अतिथि, विभिन्न चर्चका आदरणीय पास्टरहरू, विभिन्न संघसंस्थाका नेतृत्व गर्नुभएका अगुवाहरू, पत्रकारहरू लगायतका विभिन्न पाहुनाहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा आउनुभएका सबै अतिथिहरूलाई स्वागतको मन्तब्य विशप नारायण शर्माले दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेट्रोपोलिटियन विशप डा. के.पी. योहन्नान् लगायतका अतिथिहरूले पालैपालो दिप प्रज्वलन गर्नु भएको थियो । दिप प्रज्वलन पश्चात् मेट्रोपोलिटियन विशप डा. के.पी. योहन्नान्ले आफ्नो मन्तब्य दिनुभएको थियो । मन्तब्यका क्रममा विशप योहन्नान्ले आफू २५ वर्ष पहिले नेपालमा आउँदा नेपाली ख्रिस्टियनहरूले धेरै दुःख पाएको देखेकोले निरन्तर नेपाल र नेपालीको लागि प्रार्थना गर्दै आएको कुरा बताउनुभयो । यहाँ सबैको उद्देश्य परमेश्वरको राज्य खडा गर्नु नै रहेको उहाँको कथन थियो ।

सो कार्यक्रममा अतिथि नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य हिसिला यमीले आफ्नो शुभकामना मन्तब्यका क्रममा देश धर्मनिरपेक्ष भएता पनि यहाँ रहेका ख्रिस्टियन समुदायले त्यसको अनुभूति गर्न नपाएकोका दुःख ब्यक्त गर्दै राज्यले सबै जातजाति, धर्म सम्प्रदायलाई समान व्यवहार गर्न सक्नु पर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा जनजागरण पार्टी नेपालका अध्यक्ष तथा माननीय सांसाद लोकमणि ढकाल, नेपाल ख्रिस्टियन महासंघका अध्यक्ष सि.बि. गहतराज, नेपाल ख्रिस्टियन समाजका अध्यक्ष रेभ. वर्णवास श्रेष्ठ, होलिनेस चर्चेज्का पास्टर रेभ. इशुजंग कार्कीले नवनियुक्त विशपहरूलाई बधाई तथा शुभकामनाका मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अन्त्यमा विलिभर्स चर्चका मेट्रोपोलिटियन विशप डा. के.पी. योहन्नान् र रोमन क्याथोलिक चर्चका विशप पावलले नेपाली भाषामा अनुवाद गरिएको विशप के.पि. योहन्नान्ले लेख्नु भएको पुस्तक पनि विमोचन गर्नुभएको थियो ।
साथै कार्यक्रमकाे दाेश्राे सेसनमा पूर्व प्रधानमन्त्री तथा ने.क.पा. एमालेका नेता माधव कुमार नेपालकाे पनि सहभागिता रहेकाे थियाे ।

  • Dinesh Shrestha
Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney