Friday , 17 November 2017
Breaking News

ख्रीष्टियन मिडिया सोसाइटी गठन

Christian medai socityयही फाल्गुन ७ गते ललितपूरस्थित संयुक्त दर्शन नेपाल (United Vision Nepal) को सभाहलमा बसेको उपत्यका केन्द्रित ख्रीष्टियान संचारकर्मीहरूको भेलाले देशका अन्य भागमा सुरू भएका ख्रीष्टियान संचारकर्मी समूहसँगको एकतामा कुनै बाधा नपुग्ने गरी “ख्रीष्टियान मिडिया सोसाइटी” गठन गरेको छ । देशभरका ख्रीष्टियान संचारकर्मीहरूसँग एकतामा आउनका निम्ति सबै विकल्पहरू खुल्ला राख्दै केशव लुइंटेलको संयोजकत्वमा ख्रीष्टियान मिडिया सोसाइटीको तदर्थ समिति गठन भएको छ । संचारकर्मीहरूको भेलाले निम्नानुसारको तदर्थ समिति गठन गरेको छ: संयोजक: केशव लुइंटेल सचिव: जगदिश पोखरेल कोषाध्यक्ष: दिनेश श्रेष्ठ सदस्यहरू: विश्वास थापा कुमारसिंह बिष्ठ राजेन्द्र वि.क. भुवन देवकोटा प्रकाश विशुन्के सुनिलराज लामा निरज तोलांगे दिपक ढकाल

जगदिश पोखरेलले   गरेको लिखित धारणा :
पत्रकारहरूको भेला फाल्गुन ७, २०७३ बिभिन्न हिसावले बिस्तारै बिस्तारै नेपाली ख्रीष्टियान समुदाय यो भूमिमा स्थापित हुने प्रयास गर्दैछ । सामाजिक सेवा तथा विकासका क्षेत्रमा हाम्रा अग्रजहरूले निर्वाह गरेको भूमिकालाई ख्रीष्टियान विरोधीहरूले समेत् आज सिधै अस्वीकार गर्न सक्दैनन् । नेपाली सांगीतिक आकासमा थुप्रै महान हस्तीहरू दिइसकेको ख्रीष्टियान समुदाय शिक्षा, स्वास्थ्य, विकास, राहत तथा पुनर्निर्माणका क्षेत्रमा राज्यसँग हातमा हात मिलाएर अघि बढिरहेको छ । व्यापार र स्वरोजगारको क्षेत्रमा पनि ख्रीष्टियानहरू फैलिंदै गइरहेका छन् । संचारमाध्यम अर्थात् मिडियाको क्षेत्र पनि यी तमाम् क्षेत्रहरू भन्दा कम छैन । यस क्षेत्रमा पनि ख्रीष्टियानहरूको उपस्थिति बाक्लिंदै गइरहेको छ । केही वर्षअघि दैलेख जिल्लाका निकै विकट गाउँहरूमा काम गर्दै गर्दाको एउटा अनुभव यहाँ सुनाउने अनुमति चाहन्छु । दैलेखका ती गाउँहरूमा चर्चको मुख देख्न पनि पाइन्नथ्यो । जिल्ला सदरमुकाम नजिकै एक दुई वटा चर्च छन् रे भन्ने सुनिन्थ्यो । झाडापखाला लाग्दा जीवनजलको अभावमा बर्षेनी थुप्रैको ज्यान जाने गरेको त्यस दुर्गम गाउँका मानिसहरूलाई येशूको बारेमा बताउने एउटा माध्यम भने थियो । गाउँमा रेडियो नेपाल बज्थ्यो र रेडियो नेपालमा हरेक हप्ता आशाको सन्देश नामको कार्यक्रम आउँथ्यो । सुर्खेतको कुनै रेडियोमा बज्ने आत्मिक यात्रा कार्यक्रम पनि सुनिन्थ्यो । यहाँ उपस्थित संचारकर्मी मित्रहरू, हामीलाई परमेश्वरले अति विशेष सेवाकाईका निम्ति चुन्नुभएको छ । एउटा रेडियो कार्यक्रम त्यहाँ पुग्न सक्छ, जहाँ दशौँ करोड खर्च गर्ने संघसंस्थाहरू पुग्न सक्दैनन् । एउटा पत्रिकाले ती ठाउँका मानिसहरूमा आशा भर्न सक्छ, जहाँ सयौं शाखा भएका मण्डलीहरू पुग्न सक्दैनन् । एउटा अनलाइन साइटले एकैपटकमा अरबका खाडीदेखि यूरोप, अमेरिकाको व्यस्त जीवनशैलीसम्मलाई प्रभाव पार्न सक्छ । साँच्चै परमेश्वरले हामीलाई अद्भुत सेवाकाईका निम्ति चुन्नुभएको छ । यी त भए हाम्रा बारेका सकारात्मक कुरा । हामी ख्रीष्टियान संचारकर्मीहरूभित्र थुप्रै त्यस्ता कुराहरू पनि वर्षौंदेखि जकडिएर रहेका छन्, जसले हामीहरूलाई एकपछि अर्को गर्दै झनझन कमजोर बनाउँदै छन् । पछिल्ला वर्षहरूमा सबैजसो सेकुलर संचारमाध्यमहरूले बिभिन्न झुटा अफवाहहरूद्वारा ख्रीष्टियान समुदायमाथि प्रहार गर्दैगर्दा हामीहरू हाम्रो समुदायको प्रतिरक्षा गर्नबाट विल्कुल चुकेका छौं । एउटा मिडियाकर्मीको आँखाबाट हेरेर जिब्रो नचपाईकन भन्नुपर्दा यो बिचमा हामीलाई धुलोपिठो पारिएको छ र पनि हामी चुप लागेर बसेका छौं । जुन भरोसा हाम्रो समुदायले हामीमाथि गरेको छ, त्यो पूरा गर्न हामीले सकिरहेका छैनौं । हामीसँग हामीलाई सुनिदिने, हामीलाई पढिदिने मानिसहरूको कमी छैन । हाम्रा निम्ति प्रार्थना गरिदिने मानिसहरूको कुनै अभाव छैन । तर ती के के चिज होलान्?, जसले हामी ख्रीष्टियान संचारकर्मीहरूलाई आजसम्म पनि कुवाको भ्यागुतोझैं बनाएको छ ? हामीभित्र भएका केही समस्याहरूलाई म यहाँ बुँदागत रूपमा प्रस्तुत गर्न चाहन्छु: (मेरो समझले भ्याएसम्मका बुँदाहरू मैले यहाँ राखेको छु, यो भन्दा थप समस्याहरू पनि हुन सक्छन् ) १) हाम्रो बिचमा आपसी मिलाप र तालमेल छैन । २) हामीमा म ठूलो हुँ भन्ने घमण्ड छ । ३) हामीमा एकले अर्कालाई नगन्ने प्रवृत्ति छ । ४) एकले अर्काको काममा सहायता गर्ने र माथि उठ्न सघाउने बानी हामीमा छैन । ५) हामीमा आवश्यक ज्ञानको अभाव छ । ६) हामीमा आवश्यक तालिमको अभाव छ । ७) हामी सबै संचारकर्मीहरूका निम्ति एउटा छाता (संगठन) को अभाव छ । एउटै विश्वास र एउटै सेवाकाईमा भए तापनि हामीबिचमा तालमेल मिल्न सकेको छैन । सबैले आफ्नै आफ्नै बाटो समातेपछि कोही कसैको निम्ति सहायक बन्न सक्ने अवस्था आजसम्म देखिएको छैन । कहिले कहिले भेट्ने र हात मिलाउने बाहेक अन्य काममा हामीले अरूलाई सघाउने वा कुनै मुद्दामा काँधमा काँध मिलाएर संगै लड्ने अवस्थाको सिर्जना भएकै छैन । हामी सबैका साझा मुद्दाहरूमा एउटै आत्मबलका साथ् संघर्ष गर्नु आजको हाम्रो आवश्यकता हो । कतिपटक हामीमा म ठूलो हुँ, वा म बरिष्ठ हुँ भन्ने भावना आउँछ । शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा कोही धेरै जान्ने, धेरै बुझ्ने र कोही अल्ली नजान्ने, अल्ली नबुझ्ने त हुन्छन् नै । तर रबिन्द्र मिश्र र विजयकूमारजस्ता पत्रकारहरू बाँचेको यो देशमा हामीले आफैलाई “बरिष्ठ वा ठूलो पत्रकार” को पगरी गुथाउन खोज्नु आफैले आफैलाई धोका दिनुसरह हो जस्तो लाग्छ । हामीले गर्नुपर्ने धेरै छ, गरेको थोरै छ । नगरी नहुने खालका कामहरूमा पनि हामी निरन्तर चुक्दै आएका छौं । 
जान्नेले नजान्नेलाई हेप्ने होइन तर सिकाउँदै, सच्याउँदै र लड़ेकोलाई उठाउँदै अघि बढ्नु आजको आवश्यकता हो । पत्रकारको रूपमा बाहिरी दुनिंयाको सामना गर्नका निम्ति आवश्यक पर्ने ज्ञानको हामीमा चरम अभाव छ । हामी कोही पनि सिक्ने कुरामा थाक्नु हुँदैन, सिक्ने कामलाई जीवनपर्यन्त जारी राख्नुपर्छ । अहिले हामीले तत्काल नगरी नहुने काम भनेको संगठित हुनु हो । हिजोका सबै तितोपनाहरूलाई त्यागेर, तेरो र मेरोको भावनालाई बिर्सेर एकजुट भइ हातमा हात र काँधमा काँध मिलाई अघि बढ्नु नै सबैभन्दा उत्तम विकल्प हो । यसका निम्ति हामीलाई एउटा (धेरै होइन, मात्रै एउटा ) छाता संगठनको जरुरत पर्छ । हामी कसरी संगठित हुने भन्नेबारेमा हामी आज खुलेर छलफल गरौँ । यो नबिर्सौं, हरेकको आआफ्नै अर्थ र महत्व छ, हामी विभाजनतर्फ होइन, एकताको निम्ति बढौं । हामी संगठित हुने कुरामा छलफल गरौँ । सबैलाई समेट्ने वातावरणको सिर्जना गराऔं । यसअघि नै सुरू भएका संगठनहरूको स्पष्ट पहिचान गरौं र कुनै पनि हालतमा दुई भिन्नाभिन्नै बाटो नसमातौं । पूर्वको “नेपाल ख्रीष्टियान पत्रकार संघ” को बारेमा विस्तृत बुझेर सबै संचारकर्मीहरू अटाउने एउटा साझा बाटो तयार गरौँ । दश वर्षपछी हामीले ७३ साल फाल्गुन ७ गतेलाई फर्केर हेर्दा “त्यो दिन गल्ती गरिएछ” भनेर सोच्ने अवस्था नआओस्, बरु आजको दिन सम्झेर गर्व गर्ने वातावरण बनोस् । यसका निम्ति हामीले आजै ध्यान पुर्याउन जरुरी छ । अरू आउलान् र हाम्रो सामु झुक्लान् भन्नुभन्दा पनि सकारात्मक कुराहरूका खातिर भाँचिने गरी नै सही हामी झुक्न तयार रहौं । संगठन खोलेर तिनका पदमा हाम्रा नामहरूलाई पालैपालो लाइन मिलाएर राख्दैमा यहाँ कुनै ठूलो परिवर्तन आउँदैन । नामहरू भन्दा पहिला हाम्रा मनहरू मिल्न जरुरी छ । यो बिचमा हामीले धेरै तानातान गरेका छौं, धेरै लुकामारी खेलेका छौं । हामी मिडियाकर्मीहरू व्यक्तिगत स्तरकै अन्तरद्वन्दमा पनि फसेका छौं । हरेक जसो सेलफोनमा “रिस्टोर फ्याक्ट्री सेटिङ” भन्ने अप्सन हुन्छ । फोनमा थुप्रिएका अनेक एप्लिकेसन र भाइरसहरूले फोनलाई साह्रै ढिलो बनाएपछि कहिलेकहिँ रिस्टोर फ्याक्ट्री सेटिङ गर्नुपर्ने हुन्छ । यसले फोनका सबै कुरा मेटाएर किनेर ल्याउँदा जस्तो थियो त्यस्तै बनाइदिन्छ । फोन फेरि नयाँ हुन्छ र नयाँझैं चल्न थाल्छ । आज म अनुरोध गर्न चाहन्छु, सबैभन्दा पहिले म आफैलाई र त्यसपछि तपाईंहरू सबैलाई । आउनुहोस्, हाम्रा मनका तितोपनालाई आजै पखालौं, यो यस्तो र त्यो त्यस्तो भन्न छोडौं । हाम्रो एकअर्काबिचको सम्बन्धलाई आज पूरै रिस्टोर फ्याक्ट्री सेटिङ हानिदिउँ । एकआपसमा सम्बन्ध बिग्रेका हामीहरू, पहिलो दिन भेट्दा जस्तो हाम्रो सम्बन्ध थियो, आज फेरि त्यस्तै सम्बन्ध बनाएर घर फर्कौं । सबैले मन ठूलो गरौँ, हिजोलाई बिर्सौं, भोलीलाई हेरौं । कसैले भनेका छन्, “तिमी एक काम गर्न सक्छौ, म एक काम गर्न सक्छु, तर तिमी र म मिलेर दश काम गर्न सक्छौं ।” साथीहरू, आफ्नो आफ्नो अन्तरद्वन्दलाई हामी आजै त्यागौं । म व्यक्तिगतरूपमा मैले दुखाएका सबै मनहरूसँग आज यसै घडी हृदयदेखि नै क्षमा माग्दछु । हाम्रो मन मिल्यो भने यहाँ मिल्न बाँकी केही रहँदैन, तर मन नमिल्दासम्म नाम वा काम मिलेर केही फरक पर्दैन । त्यसैले पहिले आफ्ना मनहरू माझौं, अनि बल्ल हामी संगठनको ‘स’ उच्चारण गर्नतर्फ लागौं । यतिबेला मैले “हात्ती र कूकूरको कथा” लाई यहाँ जोड्न चाहें । एउटा जंगलमा बस्ने हात्ती र कुकुर एकैपटक गर्भवती भएछन् । हात्तीको गर्भधारण अवधि २२ महिना र कुकुरको गर्भधारण अवधि ३ महिनाको हुन्छ । तीन महिनामा कुकुरले ६-७ वटा बच्चा जन्माएछ । केही समयपछि कुकुर फेरि गर्भवती भएछ, र फेरि बच्चा जन्माएछ । कुकुरले ३-४ पटक बच्चा जन्माउँदा पनि हात्तीले बच्चा जन्माएनछ । छक्क परेर कुकुरले हात्तीलाई सोधेछ, “के तिमी साँच्चै गर्भवती भएकी छौ? मैले कतिपटक बच्चा जन्माइसक्दा पनि तिमीले एकैपटक पनि जन्माएकी छैनौ त !” हात्तीले जवाफ दिएछ, “मेरो पेटमा भएको कुकुरको बच्चा होइन, यो हात्तीको बच्चा हो, जन्मेपछि यो क्याउ क्याउ गरेर कुनामा बस्दैन, यो हिंड्दा धर्तिले महसूस गर्नेछ, धर्ति थर्काएर हिंड्नेछ, बलियो कुरा हतारमा बन्दैन ।” मित्रहरू, हामी आज यो बृहत भेलामा छौं, हामी यो आशा नगरौं कि रातारात अब केही हुनेवाला छ । हामी प्रार्थना गरौँ, पर्याप्त छलफल गरौँ, अग्रजहरूसँग सल्लाह लिऔं, एकताको निम्ति सम्बन्धित सबैका अगाडी झुकौं । तिन तिन महिनामा जन्मेर कुनामा क्याउ क्याउ गरीबस्ने कूकूरको छाउराजस्तो संगठन नभएर ढिलै जन्मे पनि जन्मेकै दिनदेखि धर्ति थर्काएर हिंड्ने हात्तीको छावाजस्तो संगठन हामीलाई चाहिएको हो । दुई वा तिन होइन, मात्र एक, मात्रै एक संगठन । यसो हुँदा हामी बिभिन्न हिसावले सक्षम हुन सक्छौं, एकले अर्कालाई सिकाउंदै सच्याउँदै अघि बढ्न सक्छौं । हाम्रो समुदायको विरुद्धमा आउने हरेक प्रकारका प्रहारहरूलाई मिलेर निस्तेज पार्न सक्छौं । हामी मिलेर तालिमलगायतका हाम्रा अन्य आवश्यकताहरूको परिपूर्ति गर्न सक्छौं । सबै संचारकर्मीहरू एक हुने हो भने हामी हाम्रो कुवाभित्र मात्रै होईन, कुवाबाहिर पनि ठूलो प्रभाव पार्न सक्छौं । धन्यवाद !
Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney