Monday , 23 October 2017
Breaking News

नेपाली मण्डलीहरूको परिषद बोलाउनु खाँचो छ

dinesh shrestha_ bachan Magazineदिनेश श्रेष्ठ

नेपाल राज्यमा मल्लकालिन अवधिमै सुसमाचार भित्रिएर मण्डली स्थापना भएको भएता पनि जब राजा पृथ्वी नारायण शाहले नेपालको एकिकरण गरे तब यहाँ काठमाडौंमा रहेका ख्रिस्टियन मिसन बन्द गराइए र यहाँ रहेका ख्रिस्टियन विश्वासीहरूलाई कि त देश निकाला गरिए या त हिन्दु धर्ममा नै फर्किन बाध्य बनाइए । त्यसपछि लामो समयसम्म नेपालमा ख्रिस्टियन विश्वासका गतिविधिहरू हुन सकेनन् । जब धेरैको बलिदानी र लामो संघर्षपछि वि.सं. २००७ सालमा राणा शासनको पतन भयो तब मात्र यहाँ ख्रिस्टियन विश्वासका गतिविधिहरू फेरि सुरु भएको पाइन्छ अर्थात चर्चहरू स्थापना हुन थालेका र ख्रिस्टियन मिसन फेरि सञ्चालन हुन थालेको थियो । तर फेरि राजा महेन्द्रले एकदलीय पञ्चायती व्यवस्था शुरु गरेसँगै २०४६ सालमा बहुदलीय व्यवस्था फेरि नआएसम्म ख्रिस्टियन मिसनहरू बन्द गराइए । यस हिसाबले हेर्दा नेपालमा ख्रिस्टियन इतिहास लामो देखिएता पनि पछिल्लो समयमा छोटो अवधिमा नै यहाँ धेरै मानिसहरू ख्रिस्टियन भएका छन् । जसरी नेपालमा छोटै समयमा सुसमाचार फैलियो, धेरै ख्रिस्टमाथि विश्वास गर्नेहरूको संख्या बढ्यो अनि चर्चको संख्या पनि बढ्यो, त्यसरी नै साथसाथमा ख्रिस्टियन समुदायभित्र अनेकन समस्या, विकृति र चुनौतीहरू पनि साथसाथमा थपिंदै आए । आजको नेपाली मण्डलीभित्र अनेकन समस्या, विकृति र चुनौतीले घेरिएको छ, ती चुनौतीलाई समयमा नै सम्बोधन गर्न नसके नेपाली ख्रिस्टियन समुदायको भविष्य डामाडोल छ ।
बाइबल शास्त्रको प्रेरित १५ अध्यायलाई हामीले गहन तरिकाले हे¥यौं भने थाहा गर्छौं कि जब यरुशलेम तथा वरपरका सुरुका चर्चहरूमा यहुदी बाहेक अन्य जातिहरूबाट येसुमा विश्वास गर्नेहरू बढे । त्यसपछि त्यहाँ रहेका मण्डलीहरू तथा ख्रिस्टियन समुदायमा पनि धेरै विवाद, समस्या र अन्यौलता बढेको थाहा गर्न सकिन्छ । त्यस विवाद, समस्या र अन्यौलतालाई चिर्नका लागि नै त्यति बेला भएका मण्डलीहरूको परिषद यरुशलेममा बसेको थियो, जसलाई यरुशलेमको परिषद भनेर चिनिन्छ । विशेषगरी सो परिषदको भेलाले गैर यहुदी विश्वासीहरूले यहुदीहरूले पालना गर्ने गरेका खतना लगायतका विभिन्न नीति नियमहरू पनि पालना गर्नु पर्छ कि पर्दैन भन्ने विवादलाई साम्य पार्दै हरेक विश्वासीहरूले विशेष गरी चार कुराबाट अलग रहनु पर्छ भनि फैसला गरेको थियो । मूर्तिहरूलाई बलि चढाएको थोक, रगत र गला अँठ्याएर मारेको पशुको मासु खान मनाही गरेको र व्यभिचारबाट पनि अलग रहनुपर्छ भनि फैसला गरिएको थियो तर यहुदीहरूले पालना गर्ने गरेको खतना लगायतका विधिहरू पालना गर्नु पर्दैन भनेर निष्कर्ष निकालेको थियो । सो परिषदको निर्णय पछि हामी थाहा गर्छौं कि त्यहाँ रहेका मण्डलीहरूमा उठेका विवाद, समस्या र अन्यौलता समाधान भएको थियो र हालसम्म पनि यरुशलेमको परिषदको निर्णयलाई विश्वव्यापी रुपमा मानिंदै आएको छ पनि ।
त्यसरी नै आजको अवस्थाको नेपाली मण्डलीहरू र ख्रिस्टियन समुदायमा विभिन्न विवाद, समस्या र अन्यौलता बढिरहेको देखिन्छ । त्यसलाई समय छँदा नै समाधान गर्नु राम्रो हुन्छ, त्यस विवाद, समस्या र अन्यौलतामाथि हाम्रा अग्रज अगुवाहरूको ध्यान जानु जरुरी छ । यसलाई समयमा नै समाधान गरिएन भने यसले नेपाली ख्रिष्टियन समुदायलाई नै हानी गर्न सक्छ र विगतका समयमा जुन स्पिरिटले यहाँ सुसमाचारको काम भएको थियो, हाल आएर त्यसमा मन्दी छाएको अवस्था देखिन्छ भने पछिका दिनहरूमा सुसमाचारका काम हुन सक्दैनन् मात्र होइन कि यहाँ ख्रिस्ट विश्वासी तथा अगुवा भनि टोपलिएहरूका छाडा गतिविधि र मण्डलीमा अस्वस्थ्य रुपले भएको प्रतिस्पर्धाको अवस्थाले नै धेरै विश्वासीहरूलाई नास्तिकवादतिर लैजाने कार्य नगर्ला भनि भन्न सकिंदैन । जुन समस्या अहिले युरोपियन देशमा भएका मण्डलीहरूले भोगिरहेका छन् । तसर्थ त्यसलाई बेलैमा पहिल्याएर नेपालमा भएका सबै मण्डलीहरू एकै थलोमा बसेर समाधानको उपाय खोज्नु आवश्यक देखिएको छ । ती समस्याहरूको समाधान गर्ने निकाय भनेको अरु कोही नभएर मण्डलीहरूकै परिषदले गर्नु राम्रो हो । हुन त कतिपयले भन्लान्, यहाँ राष्ट्रिय ख्रिस्टियन महासंघ नेपाल छ, अनि कतिले भन्लान् नेपाल ख्रिस्टियन समाज छ त कसैले भन्लान् राष्ट्रिय मण्डली संगति नेपाल पनि छ । हो, यी संस्थाहरू निहित उद्देश्य राखी सुरु गरिएका संस्थाहरू हुन्, जसले समाज र ख्रिस्टियन समुदायमा सामाजिक, राजनीतिक, आर्थिक तथा आत्मिक केही परिवर्तन ल्याउनका लागि काम गरिरहेका छन् तर मण्डलीभित्रका विवाद, समस्या र अन्यौलता समाधान गर्ने काम यी संस्थाहरूले गर्न सक्दैन किनभने यी संस्थाको उद्देश्य फरक छ अनि यी कुनै पनि संस्थाले सम्पूर्ण नेपाली मण्डलीहरूको प्रतिनिधित्व गर्न सकेका पनि छैनन् भने यी संस्थाहरूले मण्डलीभित्रको पवित्र सेवाको कार्य गर्ने सामथ्र्य पनि राख्दैनन् ।
अर्को कुरा, परिषद् भनेको सधैं अस्तित्वमा रहिरहने कुनै संस्था होइन । यो परिषदको निश्चित कार्यदेश हुन्छ, जुन कार्य गरिसकेपछि त्यो त्यही अस्तित्वमा रही रहनु पर्छ भन्ने पनि छैन वा रहन पनि सक्दैन । तर पछि फेरि आवश्यकता प¥यो भने फेरि त्यसरी नै मण्डलीहरू सबै भेला भएर त्यस्तै विवादित विषयमा निर्णय गर्नु उचित हुन्छ र गर्न सक्दछ पनि । यस परिषदले विशेष गरेर मण्डलीभित्रका र समुदायभित्रका विवादित विषयहरूमाथि छलफल गरी एउटा निचोड निकाल्न सक्दछ र त्यसलाई सबै चर्चले अपनत्व गरी कार्यान्वयन गर्न सजिलो हुन्छ ।

वर्तमान समयका मण्डलीले भोगिरहेका समस्याहरूः
१. झुटो शिक्षाः वर्तमान समयमा नेपाली मण्डलीले सबैभन्दा बढी भोगेको समस्या भनेको झुटो शिक्षा नै हो । झुटो शिक्षाका गतिविधिहरूबाट त नेपाली मण्डलीहरू प्रतापिड नै छन्, त्यसरी नै तिनीहरूको गतिविधिले गर्दा समग्र ख्रिस्टियनहरूलाई राज्यले हेर्ने र व्यवहार गर्ने समान दृष्टिकोणले गर्दा राज्यबाट पनि हामी प्रतापिड भएका छौं । अर्को कुरा कतिपय विश्वास मिल्ने हाम्रा मण्डलीहरू एकअर्कामा नमिल्दा झुटो शिक्षाको आरोप लगाउने गरेको यदाकदा सुनिन्छ तसर्थ मण्डलीहरूको परिषद बसी झुटो शिक्षाको मापदण्ड के हो र त्यसबाट नेपाली मण्डली कसरी जोगिन सक्छ भनि निष्कर्ष निकाल्न सकिन्छ भने राज्यले पनि हामी ख्रिस्टियनहरूलाई झुटो शिक्षालाई जस्तो व्यवहार नगराउन पहल गर्न सक्दछ ।
२. विभिन्न प्रतिनिधिमूलक ख्रिस्टियन संस्थाको कार्य विभाजन र सहकार्यः नेपालमा विशेष गरेर राष्ट्रिय ख्रिस्टियन महासंघ नेपाल, नेपाल ख्रिस्टियन समाज र राष्ट्रिय मण्डली संगति नेपाल नामक संस्थाहरूले नेपाली ख्रिस्टियन समुदायभित्र सामाजिक, राजनीतिक, आर्थिक र आत्मिक तवरले सेवा प्रदान गर्दै आइरहेको कुरा सबैलाई थाहा छ तर बेलाबखतमा यी संस्थाबिच आफूले गर्दै आएको काम र सेवाका कारण एक अर्काका प्रतिस्पर्धी संस्था जस्तो देखिंदै आएको छ । तसर्थ यस परिषदले यी ख्रिस्टियनहरूको प्रतिनिधि संस्थाको कार्य विभाजन उनीहरूकै विधान अनुसार किटान गरिदिन सक्छ र एकअर्कामा सहकार्यको वातावरण सृजना गरिदिन सक्छ ।
३. पास्टरले मण्डलीको सेवा गर्ने कि राजनीति गर्दै हिड्ने भन्ने विवादको समाधानः आजभोलि केही पास्टरहरू मण्डलीको सेवाको काममा भन्दा राजनीति गर्ने कुरामा अगाडि देखिन थाल्नुभएको महसुस प्रायः विश्वासीहरूले गर्दै आएका छन् । अनि पास्टरले राजनीति गर्ने कि मण्डलीको सेवाको काम गर्ने भन्ने विवादले मण्डली विभाजित भएको अवस्था छ । तसर्थ मण्डलीको परिषद बसेर यसको छिनोफानो गर्नुपर्ने देखिन आएको छ ।
४. ख्रिस्टियनहरूको हकहितका लागि ख्रिस्टियन पार्टीको खाँचो छ कि छैन भन्ने विवादको समाधानः नेपाली ख्रिस्टियनहरूको हकहितका लागि भन्दै केही पास्टर तथा अगुवाहरूले शुरु गरेको ख्रिस्टियन नाम जोडिएको पार्टी खोलेर एक किसिमले नेपाली ख्रिस्टियन समुदायभित्र चहलपहल बढाएको देखिन्छ र समुदायभित्र एक किसिमको विवाद पनि ल्याएको छ । यस सम्बन्धमा पनि नेपाली मण्डलीहरूको परिषद बसेर छिनोफानो गर्नुपर्ने देखिन्छ ।
५. ख्रिस्टियनहरूको मरेको शरीर गाड्ने कि जलाउन पनि सकिन्छ भन्ने विवादको समाधानः वर्तमान समयमा नेपाली ख्रिस्टियन समुदायमा कतिपयहरू मरेको शरीर गाड्नै पर्छ भनि बाइबलीय आधार पेश गरिराख्छन् भने कतिपयहरू जलाउन पनि सकिने मत जाहेर गरिरहेको देखिन्छ । यस सम्बन्धमा पनि मण्डलीहरूको परिषद बसेर समाधान गर्नुपर्ने देखिन्छ ।
६. नयाँ स्थापना भएका मण्डलीको मान्यताका आधार र पास्टरको अभिषेकको मापदण्डः विशेष गरेर नेपालमा नयाँ मण्डलीहरू थपिरहेको देखिन्छ । कतिपय भौगोलिक अवस्थालाई हेर्दा नयाँ मण्डलीहरू थपिनु खुशीको कुरा नै हो तर पनि विशेष सहरी क्षेत्रमा मण्डलीभित्र कतिपय पास्टर अगुवाहरूको मत नमिलेको कारण छुटेर गई मण्डली स्थापना भइरहेको छ । कुनै ठूलो मण्डलीको पास्टरलाई बोलाएर चर्च उद्घाटनका साथ पास्टर अभिषेक गर्ने चलन बढिरहेको छ तर नयाँ स्थापना भएका मण्डलीको मान्यताका आधार के भन्ने कुरा ब्यक्ति आफैले परिभाषित गरेको देखिन्छ तसर्थ यसको मान्यताका आधार र पास्टरको अभिषेकको मापदण्डको बारेमा एउटा स्पष्ट धारणा बनाउनु पर्ने देखिन्छ । सो काम मण्डलीको परिषदले मात्र गर्न सक्दछ ।

तसर्थ यी लगायत अन्य विषयमा पनि स्पष्ट धारणा बनाउनका लागि नेपाली मण्डलीहरूको परिषद बस्नु पर्ने जरुरत छ । जसले गर्दा नेपाली मण्डलीहरू बिचका विवादित विषय र मतमतान्तरलाई न्यूनिकरण गर्न सक्दछ । मण्डलीको परिषद बस्दा सबै मण्डली, सम्प्रदायलाई एक ठाउँमा राखेर यी माथिका विषयमाथि गहन छलफल गरी निष्कर्ष निकाल्नु पर्ने देखिन्छ । जसले गर्दा नेपाली मण्डलीहरूमा सुधार ल्याउन मात्र होइन समग्रमा नेपाली मण्डलीमा जागृति ल्याउन सक्दछ । जसले गर्दा नेपालमा सुसमाचारको काम सेलाएर होइन अझ जागृत भएर जान सक्नेछ ।

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney