Friday , 17 November 2017
Breaking News

बैसाख १२ को महाभूकम्प र क्रिश्चियनमाथि लागेका आरोपहरूको अर्को भूकम्प

jagadishजगदीश पोखरेल

मध्यदिनमा आएको महाभूकम्पले आफ्नो आसपासमा कुनै क्षति नपुर्याएपछी यो भूकम्प सस्तैमा पार लाग्ने भयो भन्ने मेरो तत्कालको आंकलन थियो । केहि मिनेटमा जब रेडियोले धरहरा ढलेको र थुप्रै मानिसहरू पुरिएको समाचार पढ्यो, त्यो आंकलन गलत निस्क्यो । भूकम्प जाने बित्तिकै टोलका सबै मानिसहरू घर छाडेर खुल्ला ठाउँमा भागे, आफ्नो घरको बहुमूल्य सामानको सुरक्षामा सायद कमैको ध्यान गयो होला ।

भूकम्प गएको एक घण्टा सम्म पनि आफ्नो टोलको हालखवर बुझ्नलाई पुलिसको एउटा गाडीसम्म नआएकोमा मानिसहरू सरकारलाई धिक्कार्दै थिए, आर्मी पुलिसको आवश्यकतामा प्रश्न चिह्न उठाउँदै थिए । तर बिचरा उनीहरूलाई के थाहा कि आर्मी पुलिसहरूलाई ध्वस्त संरचनामा पुरिएका मानिसहरू निकाल्दैमा भ्याईनभ्याई छ भनेर । सार्वजानिक बिदाको दिन भएकाले गर्दा अति ठुलो क्षति हुनबाट देश जोगियो । भनिन्छ: शनिवार भएकैले धरहरा र क्रिश्चियन चर्चमा अत्याधिक क्षति भयो, स्कुल लगायतका अरु कतिपय संरचना भत्किएकै भए पनि मानिसहरू भने जोगिए । एकातिर देशको यस्तो अवस्था, अर्कोतिर चिनजानका केहि चर्चहरू पनि भूकम्पका कारण ढलेर ठुलो जनधनको क्षति भएको सुन्दा मन भारि भयो ।

थाम्नै गाह्रो हुने गरि ठुलो बज्रपात आइलाग्यो । आधा देश ध्वस्तप्राय: भयो । हजारौंले एकैपटकमा मृत्यूबरण गरे । कमसेकम काठमाडौंमा आर्मी पुलिस छन्, अस्पताल छन्, अरु केहि नभए पनि विमानस्थल छ, तर ति दुर्गम गाउँठाउँको हालत के भयो होला ? सबैजना पिडित भएका त्यस्ता ठाउँमा कसले कसको उद्धार गर्नु ? सबैका घर भत्किएको अवस्था, बालबालिका, बृद्धबृद्धा मात्रै भएका गाउँका निम्ति कति दर्दनाक थियो होला त्यो क्षण ?

संचारमाध्यमहरूमा धामाधम क्षति विवरण आउन थाले, मृतकको संख्या ४ अंकमा पनि अट्न छाड्यो । लाखौँ मानिसहरू घरबार बिहिन भए ।
भूकम्प गएको केहि दिनमा राहत वितरणको निम्ति गोर्खा जाँदै गर्दा बालाजु माछापोखरीमा देखेको एउटा दृश्य निकै नै घतलाग्दो थियो । भत्किएको घरबाट सेनाले बहुमूल्य सामान तथा रुपैंया पैसा राखिने सेफ निकाल्दै थियो । वरिपरिका सबैले सेफ, सेफ भन्दै कराउंदै थिए । अंग्रेजी शब्द सेफको अर्थ सुरक्षित हुने भएकाले नै यसलाई सेफ भनिएको होला सायद ! यसमा राखिने सामानहरू सुरक्षित हुन्छ भन्ने सबैमा भरोशा हुँदोहो । तर त्यहाँ त सेफ नै अनसेफ भैराखेको अवस्था थियो । त्यसैबखत मेरो दिमागमा एउटा प्रश्न उब्जियो, ”इज देयेर एनीथिंग सेफ?”

भूकम्पको पराकम्पन आजको दिनसम्म पनि रोकिएको छैन । जनजीवन त्रसित छ, भूकम्प आउँदा भाग्न सजिलो होला भनेर घर केहि नभएका मान्छेहरू समेत आँगनमा सुतिराखेको अवस्था छ । समग्रमा भन्नुपर्दा भूकम्पको भूत नेपालीहरूको मानसपटलबाट हटेकै छैन । अब केहि हुँदैन ढुक्कले सुत्नुस् भन्ने आवाजलाई पनि बैसाख २९ को भूकम्पले निकै मधुरो बनाइदिएको छ ।

आफन्त गुमाएकाहरू ठुलो पिडामा छन् । ७ वर्षको छोरो गुमाएका एक व्यक्तिले यसो भन्दै थिए- जोपनि आउँछ र भन्छ, ”चिन्ता नगर्नुस्, संसार यस्तै छ ।” आँखाभरी आँसु बनाएर उनी थप्दै थिए – अरूहरूले चिन्ता नगर भने भन्दैमा चिन्ता नलाग्ने हो र ? अचानोको पीर अचानोलाई नै त थाहा हुन्छ नि ।

हुन पनि उनी सहि थिए, उनको जुन पिडा छ, त्यो सम्झाउन जानेहरूले चिन्ता नगर्नुस्, सबै बिर्सनुस् भनेर भनेझैं हल्कासँग हट्ने पीडा हुँदै होइन । उक्त व्यक्तिप्रति सहमति जनाउंदै मैले उत्साह दिएको थिएँ: पिडा सजिलै हट्दैन, चिन्ता लाग्छ, त्यो स्वभाविकै हो, तर चिन्ता गरेर हामीले बदल्नसक्ने अब के नै बाँकी छ र ?

भूकम्पले कसैलाई छाडेन । न धनी छाड्यो, न गरिव, न बृद्ध न बालकलाई छाड्यो । भूकम्पले मन्दिर भनेन, मस्जिद भनेन, चर्च भनेन, गुम्बा भनेन । तथापि नेपाली समाज एकपटक फेरी क्रिश्चियन समुदायप्रति निर्दयी बन्यो । सयौं गाउँहरूमा कुनै प्रचारप्रसार बिना नै राज्यको तहको भूमिका निर्वाह गरेका क्रिश्चियन चर्च तथा संघसंस्थाहरूले गरेका उद्धार तथा राहत बितरणका कामहरूलाई नजरअन्दाज गरियो, र केहि साना गल्तीहरूलाई सुनियोजित रुपमा बढाईचढाई गरेर भएका कामलाई समेत मेट्ने प्रयास गरियो ।

 Churchआफ्नो साइटलाई चर्चित बनाउनकै लागी थुप्रै अनलाइनहरूले क्रिश्चियन मुछिएका समाचारहरूलाई मसलादार माने । राष्ट्रिय समाचार समितिका एक पत्रकारले लेखे: “भूकम्प आउँदा क्रिश्चियनहरू रामराम भन्दै भागे” देशकै प्रमुख मध्येको एउटा दैनिक पत्रिकाले लगभग एकै समय दुइथरि समाचार बाहिर ल्यायो । पहिलो: “भूकम्प आउँदा क्रिश्चियनहरू रामराम भन्दै भागे” र दोश्रो: “भूकम्प आउँछ भनेर ज्योतिषीले पहिल्यै लेखेका थिए” । वास्तवमा नेपाली पत्रकारिताकै निम्ति यो लज्जाजनक कुरा थियो । त्यो दुवै खवरहरू राष्ट्रिय समाचार समिति वा एउटा राष्ट्रिय दैनिकको निम्ति सुहाउने समाचारहरू थिएनन् ।

राससको समाचारमा परिचय खुलाउन नचाहने श्रोतको हवाला दिदैं क्रिश्चियनहरूले रामराम भन्दै भागेको उल्लेख गरिएको थियो । परिचय नै लुकाउनु पर्ने गरि के कसैले कुनै गुप्तचर कुरा भनेको थियो र ? रामराम नारायण नारायण भनेकै हो भने सबका अगाडी भनेका होलान्, अनि यस्तो कुरामा पनि कसैले मेरो परिचय नखुलाईदिनुहोला भनेर भन्ला ? चर्चमा सबै जाति, भाषा, धर्म सम्प्रादायाकाहरूलाई सदैब स्वागत गरिने हुँदा त्यो भन्नेहरू कोहि आमन्त्रित गैह्र-इसाई पाहुनाहरू पनि त हुन सक्थे । यदि कोहि क्रिश्चियनले नै यसो भनेको थियो भने पनि राष्ट्रिय समाचार समितिले लेख्न योग्य कुरा हो र त्यो ? हुनत बिगत केहि समयमा नेपाली राजनीतिका साथसाथै पत्रकारिताले पनि निकै नै गति छाडिसकेको प्रमाण धेरै भेटिएका छन् । कहिले राजेश हमालले भूकम्प पिडितलाई यति सहयोग गरे भन्ने खवर बाहिर आउँछ । तबसम्म त्यो खवर सत्य बन्छ, जबसम्म राजेशले नै मुख खोलेर आफुले सहयोग नगरेको स्पष्ट पार्दैनन्, बाहिर आएको खवरको खण्डन गर्दैनन् । उस्तै कुरा सलमान खान देखि क्रिष्टियानो रोनाल्डोसम्म लागु हुन्छ । नेपाल र नेपालीको रक्षाको लागि खट्दाखट्दै मृत्यूबरण गरेका अमेरिकी हेलिकप्टरका मानिसहरूलाई सुझ्नु न बुझ्नु रातारात जासुस तुल्याइन्छ ।

भूकम्प प्रभावित सबै जसो जिल्लामा पुगेर लाखौँ जनतालाई राहत वितरण गर्ने बिलिभर्स चर्च देखि अरु थुप्रै क्रिश्चियन संघसंस्थासम्मको योगदानलाई नदेख्ने नेपाली मिडियाले क्रिश्चियनलाई पेल्न सकिने समाचार मात्रै किन देख्दछन् ?

अर्को हल्ला आयो – पास्टरले चर्चमा चुकुल लगाएर थुनेका कारण सबैको ज्यान गयो । यो हल्ला सुन्दै गर्दा मलाई एकपटक कबि भूपी सेरचनको याद आयो, जसले उहिल्यै यो देशलाई हल्लैहल्लाको देश भनेका थिए । के यो भन्दा अमानवीय अफवाह अर्को केहि हुन सक्छ र ? के कोहि शिक्षकले आफ्नो विद्यार्थीहरूलाई थुनेर मार्छ ? के आफ्नो आमाबाबुले छोराछोरीलाई स्वेच्छाले मर्न दिन्छ ? पक्कै दिदैन । त्यसरी नै एउटा पास्टरले पनि आफ्ना मण्डली सदस्यहरूलाई ढोका थुनेर मर्न कदापि दिदैन । साधारणत: नेपालमा सिकाइएको भूकम्पीय शिक्षा के हो भने भूकम्प आउँदा सकेसम्म खुल्ला ठाउँमा जाने, नसके घरभित्रकै सुरक्षित स्थानमा बस्ने । भूकम्प आइराखेको बेलामा यदि कसैले घर बाहिर नजा, घर भित्र नै सुरक्षित भएर बस्, भनेर भन्छ भने पनि उसको गल्ति हुने थिएन, किनकि हामीलाई आजसम्म सिकाइएको कुरा नै यहि हो ।

क्रिश्चियनहरूले राहतको नाममा धर्मप्रचार गरे भन्ने आरोप लाग्यो । यदि कसैले राहत बाँड्न गएर राहत भन्दा बढी धर्मकै कुरा गरेर फर्कन्छ भने कम्तिमा यो बेला हामी भन्न सक्छौं कि तिनीहरूले गल्ति गरेकै हुन् । तर राहत बाँड्न गएको बेलामा क्रिश्चियनहरूले आफ्नो धार्मिक परिचय नै लुकाउनुपर्ने भन्ने तर्कसँग चाहिं हामी कदापी सहमत छैनौं । राहतसँगै कसैले बाइबल पनि बाँड्छ भने त्यसमा पनि हल्ला गर्नुपर्ने कुनै कारण छैन । लिन नचाहनेले लिन्न भन्दा कसैले बलजफ्ती गर्ने कुरै आउँदैन । यहि सवालमा एकजना लेखकले यसरि लेख्नुभएको थियो, ”मलाईचाहिँ वेदको अध्ययन गर्न मन लागेको छ र चारैवटा बेद चाहिएको छ । कसैले उपहार दिए मलाई त राहत नै हन्थ्यो । छान्ने अधिकार त व्यक्तिको रहन्छ, होइन र ? राहत वितरणको क्रममा कसैले बाइबल पनि उपहार दिए होला अनि यसमा टाउँको दुखाउने कुनै कारण मैले चाहिँ देखिन ।

क्रिश्चियनहरूले छानी छानी क्रिश्चियनहरूलाई मात्रै राहत दिए भन्ने खालको एकदमै झुटो अफवाह पनि नेपाली संचारमाध्यमहरूमा फैलियो । त्यसलाई पनि एउटा ब्यर्थको हल्ला भन्दा फरक पर्दैन । क्रिश्चियनहरूले कुनै पनि हिसावले भेदभाव नगरिकन राहत वितरण गरेको मैले देखेको छु, त्यसप्रकारका थुप्रै राहत वितरण कार्यक्रमहरूमा म सहभागी पनि भएको छु । वास्तविकता के हो भने राहत वितरणको लागि प्रभावित इलाकामा जाने चर्च तथा क्रिश्चियन संघसंस्थाको स्थानीय सम्पर्क त्यहाँको चर्च नै हुन्छ । चर्चको सम्पर्कमा गएको भए पनि कुनै प्रकारको भेदभाव गर्ने काम हुँदैन, सबैको निम्ति त्यो राहत समान हुन्छ तर जोहरूले राहत पाउदैनन्, जोहरूलाई अपुग हुन्छ, वा जसलाई चर्चसँग चित्त नबुझेको केहि कुरा हुन्छ, उसले नभएका कुराहरू पत्रकारलाई भनिदिन्छ अनि बिना कुनै सोचविचार पत्रपत्रिकाले छापिदिन्छन्, प्रकाशित गरिदिन्छन् । उदाहरणको लागि क्याम्पस क्रुसेड फर क्राइष्ट नामको संस्थाले करोडौंको त्रिपाल लुकाएको झुटो आरोप लाग्नुको कारण स्थानीयहरूले माग्दा त्रिपाल नपाउनु नै थियो ।

क्रिश्चियनहरूले गल्ति गर्छन्, नगर्ने होइनन् । तर मौका छोपेर झुटो आरोप लगाइदिने र बाँकी सबैले त्यहि आरोपलाई अनुमोदन गरिदिने हो भने सामाजिक सद्भाव नखल्बलिएला र ? यसरी नचाहिँदो हल्ला बाहिर ल्याउनुभन्दा बरु देशको कानुन अनुसार कसैले गल्ति नै गरेको छ भने कारबाहीको दायरामा ल्याउँदा कसो होला? सय जनाले चिच्याउंदैमा झुट-सत्य वा सत्य-झुट बन्ला र?

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney