Friday , 17 November 2017
Breaking News

संस्कृति र संस्कार

Aruna sisiterम अविश्वासी हुँदा थुप्रै पत्रपत्रिका पढिरहन्थें अनि हरेक पत्रिकामा लेखिएको सांस्कृतिक पाटो मलाई मनपर्थ्यो | ती लेखहरुमा हाम्रा देशका कुना-काप्चामा भएका मठ-मन्दिरको बारेमा लेखिएका हुन्थे अनि तिनलाई संरक्षण गर्ने कुरामा जोड दिइएका हुन्थे | त्यस्ता लेखहरुले गर्दा मलाई पनि प्राचिन मठ-मन्दिरको संरक्षण गर्नुपर्दो रहेछ भन्ने लाग्थ्यो अनि तिनीहरुको संरक्षणबाट नै संस्कृतिको संरक्षण हुन्छ भन्ने कुरा मान्थें |

म जहिल्यै पढ्थें कि नेपाल एउटा बहुसांस्कृतिक देश हो जहाँ जाति-जातिअनुसार संस्कृतिको फरक-फरक बाहुल्यता रहेको छ | नेपालको बहुसांस्कृतिक पक्षका कारण हाम्रो देशमा सांस्कृतिक पर्यटनको पनि प्रचुर महत्व भएको कुरा म जान्दथें जसले गर्दा ममा भित्र-भित्रै (अज्ञात रुपमा) संस्कृति-प्रेम जाग्थ्यो |

मैले पहिले यसो सुन्थें, ख्रीष्टियान विश्वासमा लाग्यो भने आफूले मानिआएको संस्कृति र संस्कारलाई चटक्क छाड्नुपर्छ रे | म एक किसिमले संस्कृतिप्रेमी भइसकेकीले आफ्नो संस्कृतिलाई त्याग्न नचाहेरै परमेश्वरलाई चिन्नमा ढिला-सुस्ती गरिरहेकी थिएँ तर ‘तिमीले मलाई चुनेनौ तर मैले तिमीलाई चुनें’ भनेझैं म विश्वासमा डोर्याइएपछि आफूले मानिआएको संस्कृतिलाई त्याग्नु कुन हदसम्म ठीक रहेछ भन्ने कुरा बुझ्न थालें | सुरुसुरुमा त मलाई ख्रीष्टियान भइसकेपछि पनि दसैंको टीका, तीजको नाचगान वा तिहारको भाइटीका र भैलीको अनुसरण गरेपनि केही फरक पर्दैन जस्तो लाग्थ्यो | म मूर्तिपूजाबाहेक हिन्दुहरुका अरु चालचलनलाई मानिरहनुलाई नाजायज मान्दिनथें किनकि कुनै पनि चालचलन नमाने नेपालको सांस्कृतिक विशेषता नै शुन्यमा झर्छ भनेर म चिन्तित थिएँ | तर हों रहेछ, परमेश्वरले मानिस जातिलाई आफ्नो निम्ति बनाएपछि मानिसले मानिसकै संस्कृति होइन बरु परमेश्वरकै संस्कृति मान्नुपर्छ | मानिसले बनाएका हरेक रितिरिवाज र संस्कृति केही न केही अंशमा मूर्तिपूजाकै आधारमा बनाइएको हो | त्यसैले, यदि हामी परमेश्वरको आज्ञालाई शिरोपर गर्दा मूर्तिपूजा मान्दैनौं भने तिनका संस्कृति र संस्कारलाई पनि मान्नु हुँदैन |

एकपल्ट इन्टरनेटको सामाजिक संजालमा ख्रीष्टियान दाजु-भाइबीच दसैंमा शुभकामना दिने-नदिने भन्ने कुरामा छलफल भयो | त्यसबेला एकजना भाइले हामी विश्वासीले यदि हाम्रा अविश्वासी मित्रले ‘हेप्पी दसैं’ भन्यो भने हामीले ‘सेम टु यु’ भन्नुहुँदैन भनेर निकै गहकिलो बहस चलाए | उनका अनुसार ‘सेम टु यु’ भन्दा हामी विश्वासीले पनि दसैं मानेको जस्तो हुन्छ र परमेश्वरले आफ्ना वचनमा अविश्वासी संसारका रिति-तिथी नपछ्याउनु भनेकाले हामीले यस्तो भन्नुहुँदैन भन्ने विचार थियो | यस्तो विचार मलाई पनि मनपर्यो र त्यसपछी मैले पनि ‘सेम टु यु’ भन्न छाडें |

हुन त हामी यस संसारका मानिस सबैसित मेलमिलापमा बस्नुपर्छ | हामी विश्वासी भएपनि अविश्वासीसित आपसी सहिष्णुतामा बस्नुपर्छ | त्यसैले अर्को मानेमा सोंच्दा हामीले ‘सेम टु यु’ भन्दा केही फरक पर्दैन किनकि हामी त्यत्ति भन्दैमा वास्तवमा मूर्तिपूजामा सामेल भएका होइनौं | हामीले ‘सेम टु यु’ नभने हामी उनीहरुको नजरमा कट्टर ख्रीष्टियान हुन्छौं जसले गर्दा उनीहरुलाई हामी र सुसमाचारप्रति नै घृणा उत्पन्न हुनसक्छ | त्यसैले ‘सेम टु यु’ भन्नु भनेको वास्तवमा हामीले ती हराएका आत्माप्रति प्रेम प्रकट गर्नु हो र प्रभुले पनि हामीलाई यस्तै प्रेम गर्न सिकाउनुभएको हो | तसर्थ, ‘सेम टु यु’ भन्दैमा मूर्तिपूजाको समर्थन यसरी हुँदैन भनी वकालत गर्न मिल्छ | यसकारण, यो विचार पनि ठीकै हो |

अर्कोपल्ट फेरि सामाजिक संजालमा तिनै ‘सेम टु यु’ नभन्नु भन्ने मित्रले नै एकदिन ‘हेप्पी ल्होसार’ भने | यस किसिमको प्रवृत्ति त सरासर दोधारे प्रवृत्ति हो किनकि दसैं र ल्होसार दुवै मूर्तिपूजाकै आधारमा बसालिएका संस्कार हुन् | ती मित्रले ‘हेप्पी ल्होसार’ भन्दा उनले पहिला दिएको दमदार संदेश व्यर्थ लाग्यो र ती सबै लेख उनको आफ्नै विचार मात्र हो भन्ने मानें | हुन त यही मेरो लेख पनि मेरो आफ्नै विचार हो तर ती मित्रको हकमा भन्नुपर्दा पहिला आफैले चुरोट नखाऊ भनी अर्ती दिएको र पछि आफैले हुक्का तानेको जस्तै भयो | अनि मैले उनको यो परिवर्तित शैलीप्रति व्यंग्य पनि गरें, लगत्तै अर्का मित्रले जवाफमा भनिहाले, ‘मूर्तिपूजा नगरे तर ल्होसार मनाए भइहाल्यो नि’, फेरि मैले सोधें, ‘त्यसोभए मूर्तिपूजा नगर र टीका नलगाऊ तर दसैं मान भन्न पाइन्छ ?’ अनि फेरि अर्का मित्रले ‘हेप्पी ल्होसार भन्दैमा मूर्तिपूजा गरेको हुँदैन, बरु यो ल्होसारको समयलाई सुसमाचार सुनाउने अवसरको रुपमा प्रयोग गरौँ’ भने |

वास्तवमा ल्होसार नेपालका विभिन्न जनजातिहरुले आफ्नो जातीय पहिचान कायम राख्न नयाँ वर्षको रुपमा स्थापित गरेको संस्कार हो | ‘ल्हो’ भन्नाले ‘वर्ष’ र ‘सार’ भन्नाले ‘नयाँ’ भएकोले यो नयाँ वर्षसँग मात्र सम्बन्धित रहेको र मूर्तिपूजासँग चाहिं सम्बन्धित नरहेकोले ‘हेप्पी ल्होसार’ भन्दैमा कुनै आपत्ति जनाउनु हुँदैन भनेर ती पहिलो मित्रले आफ्नो पक्षको वकालत पनि गरे | तर हामी प्रभुका जन भएपछि प्रभुकै ‘एन्नो डोमिनी वा ईश्वी सम्वत् ‘को नयाँ वर्ष मान्नुपर्ने होइन र ? खासगरि, ल्होसारजस्ता पर्वहरुको जग मूर्तिपूजाकै आधारमा बसालिएको छ किनकि यस दिन हरेक जनजातिले आफ्नो कुलदेउताको पूजा गर्छन् र त्यही पूजापछि विभिन्न किसिमको नाचगान र मद्द्यपान हुन्छ | हामीले मूर्तिपूजा नगरेपनि त्यस्ता पर्वहरुको नाचगानमा सरिक हुन्छौं भने त्यो प्रभुको दृष्टिमा शतप्रतिशत जायज मान्न सकिन्न |

पहिला म पनि अविश्वासी हुँदा आफ्नो समुदायको नयाँ वर्ष ‘छार म्हेङ’ मा जान मन पराउँथें तर विश्वासी भएपछि त्यहाँ जाने रहर नै हरायो | मैले त्यो रहर हराउनुको कारण खोजी गरें र थाहा पाएँ कि त्यो संस्कार परमेश्वरको आज्ञामा स्थापित संस्कार नभएर मानव-निर्मित संसारिक संस्कार भएरै हो | त्यस्ता पर्वहरुमा यस संसारका मानिसहरु आफैंमा मस्त भई नाचगान र रमाइलोमा मग्न हुन्छन् | त्यसैले यस्ता पर्वहरुलाई सुसमाचार सुनाउने अवसरको रुपमा प्रयोग गर्न सकिंदैन किनकि सुसमाचार त दुःखी-दरिद्र, भोका-नांगाजरुले मात्र ग्रहण गर्न सक्छन्, त्यस्ता सुख-विलास र नाचगानमा मग्न हुनेहरुले सक्दैनन् किनकि बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला तर धनी र सुखीहरुलाई प्रभुको राज्यमा आउन धेरै गाह्रो छ’ भनी स्वयम प्रभुले नै भन्नुभएको छ |

त्यस्तै क्रममा फेरि अर्का मित्रले आफ्ना विचार यसरी पोखे कि ‘हामीले सुसमाचार फैल्याउन मूर्तिपूजाबाहेक त्यस्ता संस्कृतिलाई पनि प्रयोग गर्नुपर्छ जस्तै मारुनी नाच, ऊँधौली-ऊँभौंली, साकेला-सिल्ली आदिलाई हामीले पनि नाचे हुन्छ तर तिनका गीत अघिअघिजस्तो संसारिक नभई प्रभुकै सुसमाचारप्रति समर्पित हुनुपर्छ | यसो गर्नाले एकतर्फ संस्कृति पनि जोगिन्छ भने अर्कोतर्फ प्रभुको सुसमाचार पनि फैलिन्छ | ती चौथा मित्रको विचार सुन्दा मलाई झट्टै ठीकै लाग्यो र हाम्रो जातिविशेषको नाच सोरठी नाचलाई पनि प्रभुको महिमामा बदल्नु मन लाग्यो | तर प्रभुमा आइसकेर पुरानो संस्कृतिप्रेमलाई त्यागीसकेर अहिले आएर फेरि त्यही पुरानो संस्कृतिलाई परिमार्जन गर्दै सुसमाचार फैल्याउनु मलाई मनासिब लागेन | खासगरि, यसरी परिमार्जन गर्नु भनेको त प्रभुको वचन बंग्याएर झुटा शिक्षा प्रचार गर्नु जस्तै हो वा नुहाइदिएको बंगुर हिलैमा लडिबुडी गरेजस्तै हो, कि कसो ? होइन भने प्रभुले नै ‘तिमीहरु पनि किन आफ्ना परम्पराका खातिर परमेश्वरको आज्ञा भंग गर्छौ ?…यसरी तिमीहरुले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ |…यस जातिले मलाई ओठले मात्र आदर गर्छ तर तिनीहरुका हृदय मदेखि टाढा छ | तिनीहरु व्यर्थमा मेरो उपासना गर्छन् तर तिनीहरुका शिक्षा मानिसले सिकाएका विधि मात्र हुन् |…यस संसारका ढाँचामा नचल |’ भनेर किन भन्नुभएका ?

चाहे ऊँधौली-ऊँभौली होस्, चाहे मारुनी वा सोरठी, यी नाचहरु हरेक जातिका कुलदेउता भनाउँदाहरुकै श्रद्धाका खातिर तर्जुमा गरिएका हुन् अनि अहिले आएर हामीले शब्द मात्र परिवर्तन गरी प्रभुको सेवा गरें भन्नु प्रभुकै विरुद्धमा पाइला चाल्नु हो | यस्तो विचारलाई शिरोपर गर्ने मित्रले एकपल्ट प्रकाश २२:१८-१९ लाई गहिरिएर मनन गरिदिए हुने थियो भन्ने म चाहन्छु | तसर्थ, मेरो विचारमा जुन किसिमको संस्कृति वा संस्कारबाट परमेश्वरको महिमा हुन सक्दैन, तिनलाई हामीलाई हृदयदेखि नै चटक्क छाड्न सक्नुपर्छ | आमेन !!!

Facebook Comments
Visits
Hit Counter provided by orange county divorce attorney